यो नेपाली माटोमा आधुनिक समाजको निर्माणको कार्य सुरु भए देखि हामी रैती तुल्य उपाधि पाएर नरकीय जीवन बिताई रहेका भुईँ मान्छेहरूका सुन्दर सपनाको नाम हो ” लोकतन्त्र” । यही लोकतन्त्रको सुन्दर पक्ष सङ्घीयता ,समावेशी तथा समानुपातिक प्रतिनिधित्व , जवाफदेही तथा जनउत्तरदायी सदन , स्वच्छ ,निष्पक्ष तथा स्वतन्त्र न्यायपालिका , जन भावना अनुसारको तुफानी शैलीमा विकासको बिगुल फुक्ने सरकार लगायतका सुन्दर फुलहरूको साझा प्रतिबिम्बका रूपमा हामी दुःखी मनुवाहरूको प्रतिनिधिले नै रचेको संविधान र त्यसबाट स्व शासित हुने परिकल्पना नै आधुनिक नेपालको वास्तविक जनउत्कट हो । यसै पेरिफेरिमा तथा यसै जनउत्कटको परिपूर्ति हेतु हजारौँले रगत बगाएर , लाखौँले पसिना र आँसु बगाएर र अनगिन्ती जनहरूले तानाशाहको झ्यालखानाहरूमा क्रुर यातना भोगे। सम्बत २०७२ सालसम्म आई पुग्दा दशकौँ अघि देखिएका सुस्वप्नहरुलाई अधिक रूपमा प्रतिबिम्बित हुने गरी असोज ३ गते जारी गरिएको संविधान नै हामीहरूलाई स्वशासन गर्ने मन्त्ररूपी ग्रन्थ हो । यस संविधान भित्रका रौँ ,चिरा केलाउँदा निकै समय खर्चिनु पर्छ ,यद्यपि यसैभित्र व्यवस्था गरिएको “राष्ट्रिय सभा” नामक संसदीय संरचनाको विवेचना गर्नुपर्ने भएको छ । आसन्न राष्ट्रिय सभाको निर्वाचन यस विषय सन्दर्भमा फेसबुके भित्ता देखि ट्विटरे जगत् सम्म , छापाका अखबार देखि विद्युतीय समाचारपत्र सम्म छ्यापछ्याप्ती देखिएका जनबिचारहरूलाई एकपल्ट समीक्षा गर्नु पर्ने भएको छ ।

२०७२ साले संविधानमा मात्र होइन २०४७ साले संविधानमा समेत आफ्नो अस्तित्व राखेको राष्ट्रिय सभा नामक चिजले हालसम्म नेपाली समाजमा कस्तो भूमिका निर्वाह गर्‍यो? सराकार बनाउने , ऐन बनाउन , ऐन ल्याउन ,संवैधानिक अङ्गहरूको निर्माण गर्न लगायतका अधिकांश राजकीय हर्ताकर्ता भएको प्रतिनिधि सभा हुँदाहुँदै राष्ट्रिय सभाको खाँचो किन पर्‍यो? दलभित्र चुनावी मैदानमा समेटिन दलका नेताहरूको टाउको दुखाई बनेका गनगने मथिङ्गलहरूलाई भत्ता र सत्ताको चटनी चटाउने थलोको रूपमा मात्र राष्ट्रिय सभाको जाय जन्म भएको हो ? रङ्गमञ्चको नेपथ्यमा रहेर घरीघरी साउती मार्ने शैलीमा देखा पर्ने राष्ट्रिय सभा हामी भुईँ मान्छेका कर र राजस्वलाई दोहन यन्त्र त बनिरहेको छैन ? यस्तै र यस्तै प्रकारका प्रश्नका जनध्वनिहरूले यति बेला नेपाली गगन गुञ्जायमान छ । यस्ता जनध्वनिहरूका समुचित उत्तर कसले दिने र राष्ट्रिय सभाको काम ,कर्तव्य र अधिकारलाई साथै यसको जाय जन्म र पालन पोषणको औचित्यलाई कसले र कसरी पुष्टि गर्ने नेपाली राजनीतिका शिरोधारी नेतागणहरूमा तेर्सिएको छ । यस्ता प्रश्नहरूको उत्पत्ति हुनुमा विगत र बर्तमानमा राष्ट्रिय सभाले खेलेको भूमिका ,यसले जन अपेक्षा माथि प्रस्तुत गरेको कार्यशैली अनि यसका माननीय कहलिएका व्यक्ति विशेषहरूको राजनैतिक ,सामाजिक पृष्ठभूमि मुख्य कारण रहेको कुरालाई नकार्न सकिँदैन ।

वास्तवमा जनताको सोझै मतबाट निर्वाचित भएर गठन भएको तल्लो सदन (प्रतिनिधि सभा) लाई कुनै केही कारणले आफू सार्वभौमसत्ता सम्पन्न मुलुक कै सबभन्दा ठुलो संस्था हु , मैले राज्यका सिद्धान्त ,आदर्श तथा कानुनी शासनको मर्यादालाई कुल्ची मेल्ची गर्दा पनि हुन्छ भन्ने अहङ्कार पलाएमा त्यस्तो अहङ्कार रुपी गर्जनहरूलाई सही मार्गमा ल्याउने साथै मुलुकको संसदीय व्यवस्थालाई लोकतन्त्रको आदर्श पथमार्गबाट विचलित हुन नदिने उद्देश्यले संसदीय शक्ति सन्तुलन कायम गर्न , प्रौढ र दिग्गज व्यक्ति ,विज्ञ व्यक्तिलाई राखी अभिभाबकिय भूमिका निर्वाह गर्न राष्ट्रिय सभाको जाय जन्म भएको हुन्छ । दक्षिणी छिमेकी भारत र टाढाको छिमेकी अमेरिका,बेलायत लगायत थुप्रै राष्ट्रहरूमा माथिल्लो सदन अर्थात् सेकेन्ड च्यामबर अफ पार्लियामेन्ट(राष्ट्रिय सभा)का रूपमा यसको गठन तथा सञ्चालन भई आएको पाइन्छ । सोही मर्मलाई ध्यानमा राख्दै घर दैलो लगायतका चुनावी तिगडम बाजि गर्न नसकेर संसदीय भेलवारिबाट किनारा परेका निश्चित समुदाय ,क्षेत्र,लिङ्ग वर्ग एवम् बिद्वत ब्यतित्वहरुलाई राज्य सञ्चालनमा भूमिका प्रदान गर्ने उद्देश्यले हाम्रो मुलुकमा पनि राष्ट्रिय सभाको निर्माण भएको हो । तर मुलुक सञ्चालनमा समेटिनै पर्ने त्यस्ता क्षमतावन मेघावी एवम् पछाडि पारिएका जनमनहरूलाई सहभागिता मूलक प्रतिनिधित्व गराउने राष्ट्रिय सभा आजकाल झस्केलाबाट छिरेर सत्ताको खुट्किलो चढ्ने दूषित साधन भएको देख्न सकिन्छ । फलतः स्थायी संसद्को रूपमा राज्य भित्रका सम्मानित एवम् आदर्शवाद व्यक्तिहरूको दार्शनिक छलफल गर्ने थलोको रूपमा हुनुपर्ने राष्ट्रिय सभा नेपालको सन्दर्भमा बाँदरको हातमा नरिवल भएको छ । अझ बर्दियाबाट चुनाव हारेका वामदेव कामरेडको राष्ट्रिय सभाका सदस्य प्रधानमन्त्री हुन पाउनु पर्दछ भन्ने स्वार्थरूपी एकोहोरो रटान अनि गोर्खामा पछाडिएका नारन काजी कमरेडको राष्ट्रिय सभा हुँदै गृहमन्त्री समाको रोमाञ्चक यात्राले राष्ट्रिय सभाको आन,मान र शानमाथि नराम्रो धक्का लागेकै छ ।

हाम्रा राजनैतिक दलहरूले आफैले जुन भावना र मर्म अनुसार राष्ट्रिय सभाको परिकल्पना गरी संविधानमा राष्ट्रिय सभा गठन गर्ने भनी लेखे तर यसको मसि सुक्न नपाउँदै आफ्नो लोभी ,पापी र दूषित मनसायलाई प्रयोग गर्ने थोलोको रूपमा दुरुपयोग गरे । कतिपय राष्ट्रिय सभाका सदस्यले बोलेको समेत सुनिँदैन ,कुनामा बसेर दुनामा खाने बाहेक आफ्नो प्रतिनिधिमूलक उपस्थिति देखाउन नसक्ने ,दलध्वजधारी व्यक्तिहरूलाई नेता गणहरूले टिको लगाउँदै छिराउनुले यसको ओज माथि तेजोबोध भएको कुरालाई नकार्न सकिँदैन । त्यसै त मुलुकमा जनप्रतिनिधि मूलक संस्था धेरै भयो तिनीहरूको रस पानीको व्यवस्था गर्न हामी जनताहरूलाई हम्मे हम्मे भयो भन्ने परिपेक्ष्यमा आफ्नो वास्तविक भुमिला निर्वाह गर्न नसकी रहेको राष्ट्रिय सभा नामक चिज नखाउत त दिनभरिको सिकार खाऊ भने कान्छा बाउको अनुहार भएको छ ।

प्रतिनिधि सभाले पारित गर्ने ऐन तथा कानुनहरू लोकतान्त्रिक मूल्य मान्यता तथा त्यस्ता कानुन भित्रका समेटिन नसकेका जन अपेक्षा साथै लोकतान्त्रिक आदर्शहरूका विषय बस्तुलाई ग्राह्य्य सुझावका रूपमा विधायिकालाई प्रदान गर्ने मूलभूत कार्यलाई छोडेर दलका शीर्षस्थ नेताहरूका वरपर भुन भुनाही रहने गणेश प्रवृत्तिका कार्यकर्ताहरूलाई सेटलमेण्ट गर्ने उपायरूपी थलो बन्दै गएको राष्ट्रिय सभालाई पुनः आफ्नो लयमा फर्काउन निकै मुस्किल देखिन्छ । लोकतान्त्रिक आदर्श तथा मूल्य मान्यतालाई मलजल पुग्ने गरी समाजमा अतुलनीय योगदान, भविष्यमा समाजलाई सही मार्ग निर्देशन दिन सक्ने सोझो भाषामा भन्नु पर्दा कसैको आँखामा नबिझाउने जनमनका प्रतिनिधिका पात्रहरूको प्राज्ञिक पात्रहरूको थलो हुनु पर्ने राष्ट्रिय सभा आजकाल राजनैतिक दल भित्र गनगन गरिरहने र नेतृत्वको माथपचडी मच्चाइ रहने मान्छेहरूको मुखमा हाल्ने सत्ता र भत्ताको बुजोको रूपमा राष्ट्रिय सभाको चरित्र चित्रण हुनु निकै दुःखदायी छ । यति मात्र नभई यस्ता कार्य यो व्यवस्था ल्याउनका निम्ति लोकतन्त्रको उल्लासमय बातबरणमा रैतीबाट जनता हुन चाहने सपना बोकेर बलिदान गर्ने ती सपुतहरूको बलिदान माथिको अपमान पनि हो ।

यसरी हेर्दा विगत २०४७ साल देखि हाल सम्मको राष्ट्रिय सभाहरूले निर्वाह गर्नु पर्ने आफ्नो वास्तविक भूमिकालाई सही ढङ्गबाट निर्वाह गर्न नसक्नुका पछाडि अरू कसैको दोष नभई राज्य सञ्चालनको बाघडोर सम्हालेका राजनैतिक दलहरूको शैली र आचरण नै हो । दोस्रो राष्ट्रिय सभाका सदस्य भएर रातो कुर्सीमा विराजमान हाम्रा माननीयहरूको फितलो प्रस्तुति ,सत्ताको भर्याङ्ग चढ्न कुत्सित उत्गेलनता जस्ता सत्ता लिप्सा आनी बानी तथा व्यवहारले पनि राष्ट्रिय सभाको शिर झुकाउने कार्यमा राम्रै मलजल गरेको पाइन्छ । त्यसै गरी राष्ट्रिय सभाको भूमिकालाई जसरी वैचारिक बहस सैद्धान्तिक छलफल तथा दार्शनिक निचोड निकाल्ने एउटा मर्यादित बिद्वत थलोको रूपमा स्थापना गर्ने स्पष्ट कानुनी व्यवस्था नहुनु एवम् यसको भूमिकालाई जनस्तर सम्म पुर्‍याउने संरचना समेत नहुनुले श्राद्धमा बाधेको बिरालो जस्तो कर्मकाण्डी भूमिकामा राष्ट्रिय सभा सीमित भएको पाइन्छ । यसबाट मुक्ति पाउन सबै भन्दा पहिले त हाम्रा राजनैतिक दलहरूले आफ्नो सोच दृष्टिकोण एवम् कार्यशैलीमा उलटपुलट ल्याउनु पर्दछ । जसका लागि नेपाली जनताहरूले मतपत्रमा अभिमत नगरेका भए पनि आफ्नो मुटुका कुनामा सजाइ राखेका स्वच्छ तथा साझा छवि बनाएका व्यक्तिहरूलाई उम्मेदवार बनाउने साहस गर्नु पर्दछ । आफ्नै सामाजिक तथा व्यक्तिगत कार्यहरूबाट राष्ट्रको छवि राष्ट्रिय तथा अन्ताराष्ट्रिय जगतमा उच्च बनाएका जनप्रिय पात्रहरूलाई नसम्झिएर आफ्ना धुपौरे र भरौटेहरूलाई थन्को लगाउने कार्यका रूपमा कामका गर्दै आएका राजनैतिक दलले आजै बाट यस्ता कार्यलाई बन्द गर्नु पर्दछ । अन्यथा राष्ट्रिय सभा नामक सेतो हात्तीको भरण पोषण गर्दा गर्दा दिग्दार भएका भुईँ मान्छेहरूले यसको अन्त्येष्टिको शङ्खधोश गर्न बेर लगाउदैनन ।

त्यसै गरी हाल बिधमान राता कुर्सीमा विराजमान राष्ट्रिय सभाका माननीयहरूले आफ्नो वैचारिक एवम् सैद्धान्तिक ज्ञानको क्षमता अतुलनीय विकास गर्दै आम जनताहरूमा नवीन चेतना र नवीन राजनैतिक सोचको विकास गराउन बिद्वत भूमिका निर्वाह गर्ने तर्फ आफ्नो कार्यशैलीलाई बदल्नु पर्दछ नकि मेरो भत्ता पाकेकै छ, छातीमा सांसद लोगो टाँसेकै छु भनेर भत्ता बुझेर बस्ने मात्र होइन । यदि यस्तो गर्न नसकेमा जसरी जनको सार्बभौमशक्तिले राष्ट्रिय सभाको गठन भयो त्यसरी नै विघटन नहोला भन्न सकिँदैन । अर्को तर्फ राष्ट्रिय सभालाई प्रभावकारी भूमिका प्रदान गर्ने संवैधानिक तथा कानुनी स्पष्ट पारी जनस्तर सम्म पुर्‍याउने र यसका काम तथा गतिविधिलाई जनताको समेत सहभागितामूलक व्यवस्था मिलाउने कानुनी संरचनाको निर्माण नगरेमा आजको राष्ट्रिय सभा हिजोको राणा शासनकालीन भारदार भेला भन्दा अर्को अर्थमा स्थापित हुन सक्दैन । तसर्थ आधुनिक लोकतन्त्रले झकी झकाउ कयौँ मुलुकमा सम्मानित तथा ओजस्वी स्थान हासिल गरेको राष्ट्रिय सभा (सेकेन्ड च्यामबर अफ पार्लियामेन्ट हाम्रो मुलुकमा समेत सोही रूपमा स्थापित गर्न र गराउन एवम् सार्वभौमसत्ता सम्पन्न प्रतिनिधि सभालाई अविचलित हुन नदिई लोकतान्त्रिक मूल्य मान्यतामा टिकाई राख्न स्थायी सांसदका रूपमा राष्ट्रिय सभालाई टिकाई राख्न मुलुकका नेता गण एवम् सम्बन्धित हर्ताकर्ताहरूको मन मथिङ्गल सोझिनु पर्दछ । राष्ट्रिय सभाको बैठक चल्दा यस्तो बैठकबाट राजनैतिक, सामाजिक, सांस्कृतिक आर्थिक र कानुनी लगायत थुप्रै विषय बस्तुहरूमा आज निकै ज्ञान वर्षा हुँदै छ भन्ने विश्वास सहित जनताको ध्यान राष्ट्रिय सभाको त्यस्तो बैठक तर्फ खिच्न सकिन्छ भन्ने कुरा बेलैमा नेपाली माटोका ठुला ठालु कहलिएका दलमुखियाहरुको ध्यान जावस अन्यथा राष्ट्रिय सभामाथि तेर्सिएको आलोचनात्मक प्रश्नको भेल एक दिन यसरी उर्लिने छ उक्त भेलले स्वयम् राष्ट्रिय सभालाई नै बगाएर लैजाने छ । चेतना भया ।।

लेखक : सुर्य बहादुर शाही

मध्यपश्चिम विश्वविद्यालयमा कानून संकायमा अध्ययनरत विद्यार्थी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय