श्मशानी आत्माहरूले मध्यरातमा गर्ने कोकोहोलोको शैलीमा पूर्व मौसुफ राजा ज्ञानेन्द्रका ऐठनी सम्बोधन सुन्न हामी विवश भई बक्सेका छौं । मौसुफको सम्बोधन सुन्दै गर्दा, कुनै तहबिलदारी विद्वानका करकमलबाट लेखाईबक्सि कनिकुथी वाचन गरी बक्सेको कुरा प्रकाशित भिडियोले उदाङ्गो पारी राखेको थियो । २०५९ सालबाट यसरी सम्बोधन गर्ने बानी परेका मौसुफका अभिव्यक्ति शैलीमा के कस्तो परिवर्तन आएछ भन्ने बुझ्नका खातिर पनि उक्त भिडियो पुरापुर हेर्ने कष्ट हामीले पनि गरिबक्स्यो ।

कुरोको सन्दर्भ सम्वत् २०८१ साल फाल्गुन ७ गतेका दिन प्रजातन्त्र दिवसको छाता ओढेर श्मशानमा पुगेका नेपाली राजनीतिका दिवङ्गत पात्रहरूको बेतुके सम्बोधनमा केन्द्रित छ । हामीले धेरै वर्ष सम्म खेपेको र अब खेप्न सकिदैन भनेर मिल्काएको धीराज, अधिराज र महाराजहरूको भुतिया संरचनाहरूको यस्तो बर्बराहट भनेको हामीले हासिल गरेको लोकतन्त्र माथिको वाल्य उपहास सिवाय केही हैन । मौसुफले जारी गरिबक्सेको सम्बोधनमा कति सजिलै मेरा जिजुबुवा श्री ५ त्रिभुवनको उदारतामा आएको प्रजातन्त्रमा मेरो ऐक्यवद्धता छ भनी बकि बक्सेछ । त्यो सम्बोधनमा राणाहरूले बन्दी बनाएका त्रिभुवनलाई सकुशल दिल्ली पुर्याउने वीर गणेशमानको स्मरण भएन । मौसुफकै जिजुबुवाले शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठहरूलाई राणाहरूले शूली चढाउँदा रमिते होइ बक्सेको कुरालाई स्मरण नगरी आफ्नै पुर्खाका बाहुलीबाट प्रजातन्त्र आएको आत्मरतीयुक्त रुन्चे राजकीय भाषामा सम्बोधन गरेको पाइयो ।

हुन त, कयौँ देशमा राजसंस्था फालिने र ब्युँतिने नभएको हैन तर हाम्रो माटोमा राजसंस्था फालिनुको कारण र कारकलाई विश्लेषण गर्दा तिनको केन्द्रबिन्दुमा निज पूर्वराजा ज्ञानेन्द्र नै आउछन् भन्ने कुरामा दुईमत छैन । यिनी ‘ओपन सेक्रेट’ को रुपमा रहेको दरवार हत्याकाण्डको सोपान चढेर राजा भएका हुन् । यिनी वंशाणुगत परम्परा अनुसार न विगतमा राजा बन्ने हैसियतमा थिए न वर्तमानमा छन् न भविष्यमा नै हुनेछन् । विगतमा पनि ४ वर्षको उमेरमा बालख राजा बनेका यिनी विरेन्द्रको वंशनाश पछि पनि अप्रत्यासित राजा बन्न पुगेका हुन् । आफ्नो वंश परम्परा र सांस्कृतिक सोपान चढेर यिनी न कहिल्यै राजा भए न कहिल्यै राजा हुन सक्नेछन् । यिनी भित्रको पिपाषूपन भनेको, जनताको अधिकार छिनेर राजा बन्नुपर्छ भन्ने सिवाय केहि छैन जुनकुरा २०५९ साल देखिका यिनका हर्कतहरुले प्रष्टै बनाएको छ ।

यि त भए हाम्रो सांस्कृतिक पक्षहरुलाई बुझ्ने कुर, त्यस संगसगै विश्व राजनीतिमा आएका परिवर्तन, विश्व अर्थतन्त्रमा आएको विकरालता अनि सूचना प्रविधिको विहंगम रुपान्तणलाई हेर्दा नेपाली राजनीतिमा कुनै खास महत्व नभएका पूर्व राजाको भूमिका स्थापित गर्नु भनेको भत्ता ख्वाउन एउटा नयाँ संस्थाको स्थापना गर्नु बाहेक अर्को अर्थ देखिदैँन ।

मरणच्यासे भाषामा मौसुफले, हाम्रा पछि लाग्नु पर्यो भनेर आव्हान त गरी बक्सनु भो, तर कसरी पछि लाग्ने भनेर खुलेर भन्न सकी बक्सनु भएन । हलोको पछाढी लाग्नु वा अरु कसैको पछाढी लाग्नु अथवा कुनै आन्दोलन, कुनै प्रदर्शनको पछाढी लाग्नु भन्ने सम्मको सुचना समेत आएन बरु यस्तो अमुर्त आव्हानलाई मौसुफका धुपौरेहरुले भाजाए र फेसबुकका भित्ता रंगाए । धमिलो पानीमा माछा मार्न मौसुफबाट नै सिकेर हाल मौसुफ भन्दा धुरन्धर भई सकेका संसदवादीहरुको अगाढी यस्तो निर्लज्जताको मन्चन नगरेको भए, बरु मौसुफको बाकि रहेका जुनाफको गाथगादी जोगी रहने थियो तर मौसुफ कसको उचलाईमा पर्नु भो, हामी बेखबर छौं ।

अन्त्यमा, मौसुफको दान बकसले हामी रैती बाट जनता भएका हैनौ, यो कुरा मौसुफले बेलैमा बुझे बुढेसकालमा दु:ख पाई बक्सने थिएन । हामीले रैतीबाट जनता हुनका लागी गरेको बलिदानको हिसाब मौसुफका हिमालय टि स्टेटका चार्टर एकाउण्टेण्डले समेत राखी बक्सन सक्नु हुन्न, यो कुराको हेक्का होस् मौसुफलाई बिहान एकपल्ट र साँझ एकपल्ट भई राख्नु पर्छ अन्यथा मौसुफको जीवनको उत्तार्ध सुखद नहोला । केहि पुर्वपंचायती जिवाशेषहरुले बेला बेलामा मन्दिर घुमाउदैमा, आमसभामा बोल्न लाउँदैमा हामी रैतीले कायम गरिदिएको रसद पानि र खोपिलाई नभुली बक्सियोस्, जहा होईबक्सनु हुन्छ त्यसैमा चित्त बुझाईबक्सियोस्, सबै भन्दा पहिला श्री पशुपतिनाथले हजुरको रक्षा गरुन् । जय नेपाल ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय