२४ साउन, काठमाडौं । अमेरिकामा बस्दै आएका किरण गजमेर द भ्वाइस अफ नेपाल सिजन ३ को बिजेता बन्न सफल भएका छन् । हिमालय टेलिभिजनमा शुक्रबार राति भएको फाइनलमा टिम प्रमोदबाट किरण गजमेर बिजेता भएका हुन् ।
यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट भएका छन् । यी तीनैजना फाइनलिस्टले द भ्वाईसकाे ट्रफी पाएका छन् । एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । शनिवारको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतिहरु दिएका थिए ।
किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीहरुलाई धन्यवाद दिए । किरणले भने–‘म यो मायाको लागि सधै नै ऋणी भएको छु । मैले, अब नेपाली संगीतबाट केही लिने भन्दा पनि केही दिने बेला आएको छ ।’
टिम प्रमोदको प्रतिस्पर्धीले लगातार दोश्रो पटक नेपालकै नम्बर १ रियालिटी शोको टाइटल जितेका छन् ।
द भ्वाइस अफ नेपाल सिजन ३ का विजेताले नगद २५ लाख पुरस्कार र वर्ल्ड टूरको प्याकेज पाएका छन् ।
यसअघि सिजन १ मा स्याङ्जाका सिडी विजय अधिकारी र सिजन २ मा झापाका राम लिम्बूले उपाधि जितेका थिए ।