ऐतिहासिक जनयुद्ध र जन आन्दोलनको जगमा स्थापित गणतन्त्र र संघीयता सहितको नेपालको संविधान २०७२ को सफल कार्यान्वयनको सबैभन्दा चुनौतीपूर्ण कुरा संघीयता कार्यान्वयन नै थियो । सिमित स्रोत साधन, प्रयाप्त अनुभवको अभाव र तिब्र जन आकांक्षा नै हाम्रा लागि मुख्य चुनौती थिए । जनयुद्ध र जन आन्दोलनका सहिद, बेपत्ता तथा घाइते अपांग परिवार, उत्पीडित जाति समुदायहरुको घाउमा मलम पट्टी लगाउदै विकास र संमृद्धिको जग बसाउनु जनयुद्धको राप र चापबाट पुनर्जीवन पाएर आएका हाम्रा जनप्रतिनिधिज्युहरुको लागि झन यी चुनौती अलि बढी नै भारी थिए ।

पहिलो वर्ष :- “अनुभव, सिकाई र (जग स्थापनाको वर्ष)”तपाईहरुको हातमा आफू निर्वाचित भएको स्थानीय तहको एक थान भौगोलिक नक्सा थियो र दिमागमा थुप्रै योजना, सपना र भिजनका रुपरेखाहरु मात्रै थिए । सिमित स्रोत साधनमा टेकेर तिनै योजना र सपनाहरू पुरा गर्न स्थायी संरचना र पुर्वाधार निर्माणको बलियो जग बसाउनु थियो तर तपाईहरुसँग न कुनै अनुभव थियो न कुनै पुर्व निर्धारित आधार रेखा थियो न कुनै नीति विधि ऐन कानुनको मार्गदर्शन थियो । जनता, जनप्रतिनिधि र कर्मचारी हामी सबैका लागि संघीयता नौलो थियो । अरुले बनाइदिएको पुरानो बाटोमा हिड्नु धेरै सजिलो कुरा हो तर तपाईहरुका लागि एकातिर थुप्रै भ्रम र बाधाहरु चिर्दै आफ्नो बाटो आफै बनाउदै नयाँ यात्रा तय गर्नु थियो अर्कोतिर जन अपेक्षा र आकांक्षाहरु पुरा गर्दै आफ्नो अग्नि परिक्षा उत्तीर्ण गर्नु थियो । तपाईहरु तर्फ हजारौं नजरहरु सोझिएका थिए र हजारौं प्रश्न र चुनौतीहरु खडा थिए तर तपाईहरुसँग केवल अमुर्त सपना, निस्कपट भावना, संकल्प र प्रतिबद्धताका पोकाहरु मात्रै ।

दोस्रो वर्ष :- “संघीय तथा प्रदेश सभा (निर्वाचनको वर्ष)”बाम गठबन्धन अनि सक्लो कम्युनिस्ट पार्टी गठनको उभारले तपाईहरुको आफ्नो पदिय जिम्मेवारि नै ओझेल पार्दियो देशको तीन वटै तहमा एकलौटी कम्युनिस्ट सरकार बनाउने रहरले तपाईहरु अलि बढी नै उत्साहित भएर चुनावी अभियानमा होमिनु भयो । नेता, कार्यकर्ता र स्वयं जनताहरुमा पनि त्यो उभार छाएको प्रष्ट देखिन्थ्यो र त्यो केही हदसम्म स्वभाविक पनि थियो । परिणामस्वरूप सार्वभौम जनताले त्यो जिम्मेवारी बाम गठबन्धनलाई नै सुम्पिएको पनि थियो । धेरैलाई लागेको थियो अब देश स्थिरता र विकासको बाटोमा अघि बढ्नेछ तर त्यो विश्वास दुई वर्ष भन्दा बढी टिक्न सकेन सारा सपनाहरु चकनाचुर भइदिए तपाई हामीले ठडाउदै गरेको एउटा संमृद्धिको सपनाको महल गर्ल्याम्म ढल्यो । जसको पराकम्पले देश एउटा अध्यारो सुरुङ भित्र धकेलियो हामीसँग मूकदर्शक भएर हेर्नु बाहेक केही विकल्प रहेन ।

तेस्रो र चौथो वर्ष :- “कोरोना महामारी विरुद्ध (संघर्षको वर्ष)”एकातिर देश अन्योल र अनिश्चितताको भड्खालोमा फसिरहेको पीडा अर्कोतिर कोरोना महामारीको अभूतपूर्व र अनपेक्षित आक्रमणको सामना गर्दै सिंगो मानव जीवन नै अस्तित्वको चुनौतीपूर्ण लडाइ लड्नु पर्ने बिल्कुलै नौलो परिस्थिति पनि यतिबेला हामीले नै भोग्नुपरिरहेको छ । एक दुई हप्ता, एक दुई महीना गर्दै अब दुई तीन वर्ष नै बितिसक्यो तर जोखिम र त्रास घटेको छैन बरु नयाँ नयाँ भेरियन्टको त्रासले अन्य सम्पूर्ण काम छोडेर सारा ध्यान, साधन स्रोत र शक्ति परिचालन गरेर यो लडाइ लड्नु पर्ने बाध्यता छ । आफ्नै ज्यान जोखिममा राखेर मैदानमा उत्रिनु त छँदै छ अरुको ज्यानको सुरक्षाको जिम्मेवारी पनि आफ्नै काँधमा बोक्नु पर्ने अवसर र चुनौती तपाईहरुलाई समय परिस्थितिले भिडाईदिएको छ । सिमित स्रोत साधन र असीमित आवश्यकता र आकांक्षाहरुसँग संघर्ष गर्दै प्राप्त अनुभवबाट सिक्दै अगाडि बढ्नुपर्ने अवस्था विद्यमान छ ।

पाँचौ वर्ष :- “दोस्रो स्थानीय तह निर्वाचन (चुनावी वर्ष)”कोरोना महामारी विरुद्ध संघर्ष गर्दागर्दै आगामी बैशाख महिनासम्म दोस्रो स्थानीय तह निर्वाचनको मिति घोषणा हुनेछ । मिति घोषणा हुने बित्तिकै निर्वाचन आचारसंहिता लागू हुनेछ । आचारसंहिताका कारण हाम्रा विकास निर्माणका काम अवरुद्ध हुनेछन । सारा देश फेरि निर्वाचनको माहोलमा होमिने छ । जसले गर्दा हाम्रा आगामी पाँचौं आ. व. २०७८/०७९ का निति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा इमर्जेन्सी ब्रेक लगाउनु पर्ने बाध्यता हुनेछ ।

अन्तमा,

देश, जनता र समयले सुम्पिएको यो ऐतिहासिक अवसर र जिम्मेवारी पूरा गर्ने क्रममा थुप्रै सफलता र असफलताका कहानीहरु , सुखद र दु:खद खबर, आलोचना र समर्थनका अभिव्यक्तिहरुबाट धेरै कुराको अविस्मरणीय अनुभव र सिकाइ आर्जन अवश्य भएको छ । यसबाट विकास र संमृद्धिको न्युनतम आधार सहितको प्रारम्भिक रुपरेखा तयार भएको छ । प्राप्त समय र अवसरको सहि सदुपयोग गर्दै परिवर्तन र संमृद्धिको यो यात्रा पुरा गर्न उपलब्ध भएसम्म धेरैको साथ र सहयोग लिएर अगाडि बढ्नु नै सबभन्दा उपयुक्त विकल्प हो । पाँच वर्षीय कार्यकालको गम्भीर समिक्षा गर्दै बाँकी कार्यभार अर्को नेतृत्वलाई सुम्पिएर ससम्मान बिदाई हुने अथवा आफ्ना अधुरा सपनाहरु आफैंले साकार पार्न थप अर्को एक कार्यकाल दोहोरिने भन्ने निर्णय र तयारी गर्ने समय पनि नजिकै आईरहेको समय सन्दर्भमा हामी आई पुगेका छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय